आठ वर्षमा ६५ प्रतिशत मात्र निर्माण कार्य

काठमाडौँ । नवलपरासीको सुस्तालाई जोडने नारायणी नदीमा बन्न लागेको पुल ८ वर्षमा ६५ प्रतिशत मात्र निर्माण कार्य भएको छ । नारायणी नदी पारी रहेको सुस्तालाई नेपालसँग जोडिने गरि नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुङ्गे पुल आठ वर्षदेखि निर्माण कार्य सुरु भएको थियो ।

सस्पेन्सन ब्रिज डिभिजनका सिनियर डिभिजनल इन्जीनियर गौरीकुमार श्रेष्ठले पुल निर्माणमा ढिलाइ भएको भन्दै तत्काल निर्माण गर्न निर्देशन दिइसकेको बताएका छन् । उक्त पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७२ सालमा त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो ।

नेपालको सबै भन्दा लामो झोलुङ्गे पुलको रुपमा निर्माण भइरहेको सुस्ता झोलुङ्गे पुल निर्माणका लागि सम्झौताको समय पटक पटक थप गरे पनि निर्माण पूरा गर्न सकेको छैन । भारतीय पक्षले गत मङ्गलवार विना सूचना नै गण्डक ब्यारेजको ढोका खोलिदि पछि पुल निर्मा कार्य रोकिएको पुल विभागका सबइन्जीनियर गोपाल थापाले बताएका छन् । नारायणी नदीमा गण्डक ब्यारेजको पानी छाडिँदा पुल निर्माणको काममा समस्या भएको थापाले बताए ।

नारायण नदीमा बन्न लागेको एक हजार ५५८ मिटर लामो पुलमा १४ वटा पिलर निर्माण गर्नुपर्नेमा नौ वटा पिलरहरु मात्र निर्माण भएको थापाले जानकारी दिए । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पुल तत्काल निर्माण सम्पन्न गर्न सुस्ता गाउँपालिका ५ का स्थानीयवासी कमल हरिजनले माग गरेका छन् ।