बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् । उनी कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएको बेलामा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

दाहाललाई बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित उनको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा १ किलोमिटर टाढा उनको शव भेटिएको प्रहरीले बताएका छन् ।

उनको घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जानकारी गराएको छ ।