लगातारको वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

काठमाडौँ । लगातारको वर्षाले महोत्तरी जिल्लाका किसानहरु हर्षित भएका छन् । वैशाख ३० मा हुने स्थानीयतहको चुनाव प्रचारप्रसारमा जुट्न नसक्दा उमेदवारलाई भने छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।

लगातार आएको पानीले खेतबारी खनजोत गर्न र बालीनाली लगाउन सहज भएको किसानहरुले बताएका छन् । बर्दिबास नगरपालिका ९ पशुपतिनगरका महेन्द्र महतोले भने, वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको बताए । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको र विभिन्न तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका ४ रामनगरका चन्देश्वर राय दनुवारले बताए ।

लगातार आएको वर्षाले किसान खुसी भए पनि स्थानीय चुनाव नजिकिदै गर्दा उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको भङ्गाहा–४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतोले बताएका छन् । उनले भने, खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।

लगातार आएको वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । ग्रामीण सडक हिलाम्य भएका पछि चुनवी प्रचारप्रसारमा हिड्न अप्ठायरो भएको बर्दिबास ७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकीको गुनासो रहेको छ ।