दशैँमा जस्तै निर्वाचनले गाउँमा चहलपहल बढार्यो

काठमाडौँ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल बढ्को छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केका छन् ।

स्थानीय सरकारमा सक्षम, योग्य र विकासप्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको छ । स्थानीय सरकार जनताको नजिकको भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हँुदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ आएको रामपुरका त्रिविक्रम थापाले बताएका छन् । उनी मतदानकै लागि एक हप्ताअघि काठमाडौँबाट गाउँ आएको बताए ।

थापाले धने सक्षम, योग्य र आफूले रोजेको प्रतिनिधि चुन्ने अधिकार नागरिकलाई छ, हाम्रालाई होइन असल नेतृत्वलाई मतदान गर्नु नागरिकको कर्तव्य हो । अघिल्लो निर्वाचनमा कुनै राजनीतिक दललाई विकास गर्ने आशामा बसेका मतदाता यसपटक भने व्यक्ति हेरेर मतदान गर्ने पक्षमा रहेको बताए ।

चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढेको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका हुन् । गाउँघरको विकासका लागि गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले मतदान गर्न मतदाता घर फर्किएका हुन् । बाहिरबाट गाउँ फर्केका मतदाताले गाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्न आएको बताएका छन् ।

काठमाडौँ बुटवल, नारायणगढ, पोखरा, पाल्पा सदरमुकाम तानसेन, भारतलगायत विभिन्न ठाउँबाट आउने सवारी साधनमा यात्रुको चाप बढेको छ । निर्वाचनले गर्दा कतिपय सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेपछि निजी गाडी रिजर्भ गरेर पनि गाउँ भित्रिनेहरू छन् । गाउँमा मतदान गर्न आउनेलाई राजनीतिक दलले आफू निकटका मतदातालाई काठमाडौँ, बुटवललगायत स्थानमा सवारीसाधनको व्यवस्थासमेत गर्दै आएका छन् ।

स्थानीयस्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले पनि टाढा–टाढा भएका मतदाता घर फर्किएका हुन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ ।