दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

उनले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिएका छन् ।

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनमा अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य चार जना भने सामान्य घाइते भएको प्रमुख शाहीले जानकारी दिइएका छन् ।