जीवित कछुवाको बच्चा सहित दुई जना पक्राउ

काठमाडौं । कोटेश्‍वरबाट १० वटा जीवित कछुवाको बच्चा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका १ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्‍वरबाट १० वटा जीवित वन्यजन्तु कछुवाको बच्चा आखेटोपहार सहित उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ ।