जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिन वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्नेमा जोड दिएका छन् । व्यास नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधिका सामु महत्वपूर्ण जिम्मेवारी रहेकाले त्यसलाई पूरा गर्नेतर्फ गम्भीर ढङ्गबाट लाग्न आग्रह गरेका छन् ।

जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने पौडेलको सुझाव थियो । “जनताको माग र आवश्यकता के हो त्यसलाई बुझेर काम गर्न सके जनप्रतिनिधि सफल हुन्छन्”, पौडेलले भने। पौडेलले राजनीति र विकासलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा समेत राखे ।

विकास राजनीतिको बाटोबाट बाहिर जान नमिल्ने बताउँदै पौडेलले भने “राजनीतिलाई स्थायी बनाएर विकास अभियानलाई पूर्णता दिनुपर्छ । स्थायी राजनीतिका लागि कांग्रेस सदैव क्रियाशील छ ।” भ्रष्टाचार अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न पौडेलले आग्रह गरेका छन् ।

कांग्रेस राष्ट्रहितको पक्षमा उभिने पार्टी भएको चर्चा गर्दै पौडेलले देशका लागि सधैँ इमानदारी प्रस्तुत गरिरहेको बताए । “केही दलहरु भ्रम छरेर राष्ट्रवादी बन्न खोज्दैछन्, कांग्रेस विगतदेखि नै राष्ट्रहितका लागि समर्पित रहेको बताएका छन् ।

नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले मूल्याङ्कन गर्नुपर्ने पौडेलले बताउनुभयो । सो अवसरमा व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गर्दै कार्यकर्ताको मूल्याङ्कन गर्ने तर जनताले पनि नेताको मूल्याङ्कन गर्नुपर्ने टिप्पणी गरेका छन् ।