अदालत परिसरबाट फरार भएका ठाकुर पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमन सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा गए राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिइएका छन् ।

अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताएका छन् । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिइएको छ ।