काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रवार बिहान १ सय १३ हजयात्रीलाई बिदाइ गरेका छन् ।
यस वर्ष हजका लागि नेपाललाई छुट्टाइएको ५ सय ५५ जनाको कोटामध्य शुक्रवार बिहान अन्तिम टोली हज गर्नका लागि मक्कामदिनातर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका छन् ।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने पनि बताए । हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति रहेको थियो ।
असार ६ गतेदेखि दैनिक एयर अरेबियाको हवाइजहाजबाट एक टोली हज गर्न गइरहेको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ ।
महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टिम सहभागी भएका छन् । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ ।
Add Comment