रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै, धेरै जसो १६ देखि २० वर्षका किशोरकिशोरी

काठमाडौँ । रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३ सय २२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।

सम्बन्ध विच्छेदका लागि दर्ता भएका २ सय २७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । गत वर्ष २ सय २६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १ सय ५६ वटा फछ्र्यौट भएका छन् भने ७० मुद्दा फैसाला हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १ सय ६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १ सय २३ वटा फैसाला भएका थिए ।

सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिएका छन् । विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उनले भने । ।

अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताए ।

जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्का अनुसार सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उनले भने, सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ ।

वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको महिला अघिकारकर्मी तीर्था आचार्यले बताइन । सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ । सम्पत्ति माग दाबीसहित गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताइन सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको बताइन ।