आईजीपी सिंहलाई नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

गत असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजालसमा सुनुवाइ भइरहेको हो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।