अन्तिम दुई दिन घटेपनि समग्रमा बजार बृद्धि, आउँदो साता के होला?

काठमाडौँ। अन्तिम दुई दिन घटे पनि समग्रमा यो साता शेयर बजार बढेर बन्द भएको छ। अघिल्लो बिहिबारसम्ममा लगातार १३ कारोबार दिन घटेको बजार आइत देखिनै उकालो लागेको थियो।
नियमित कारोबार अलावा यो साता बजारका सरोकारवालाहरुको गतिविधीले पनि राम्रो चर्चा पायो। सोमबार नेपाल धितोपत्र बोर्डले दलाल ब्यबसायी र मर्चेन्ट बैंकरलाई शेयर बजारका बारेमा टिप्पणी नगर्न निर्देशन दिएको थियो।
यस्तै केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले कुनै लगानीकर्ताको दुईभन्दा बढी हितग्राही (डीम्याट) खाता भए रोक्का गर्ने निर्णय समेत यही साता सुनाएको छ।
साथै यो साता चार कम्पनीले लाभांश घोषणा गरे। प्राइम कमर्सियल बैंक २७ प्रतिशत, एभरेस्ट बैंकले ३३ प्रतिशत, कञ्चन डेभलपमेन्ट बैंकले १६.०३ प्रतिशत र गुडविल फाइनान्सले १०.११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका हुन्।
नियमित कारवबार तर्फ आइतबार, सोमबार र मंगलबार बढेको शेयर बजार बुधबार र बिहिबार ओरालो लागेको थियो। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को साप्ताहिक रिपोर्ट अनुसार शेयर बजारको कारोबार मापक सूचक आइतबारको तुलनामा ११.९२ अंकले बढेर अन्तिम दिन १४८९.०६ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा पुगेको छ।
कारोबार मापक सूचक संगै यस साता कारोबार रकम समेत बढेको छ। यस साता दुइ अर्ब ९२ करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरका शेयर खरिद बिक्रि भए। जुन अघिल्लो साता भन्दा १५.६ प्रतिशत बढी रहेको नेप्सेले जनाएको छ। बिजमाण्डू