तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका ४ मटेरिया गाउँको मुख्य सडकमा पिसिसि काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेस गर्दा फिल्डमा भएको भन्दा समग्र पिसिसि परिमाणमा बढी उल्लेख गरी २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुबाट गैर कानुनी रुपमा हानी नोक्सानी भएको २ लाख ६१ हजार ८ सय ५५ रुपैयाँ ९० पैसा जफत गर्न पनि माग गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन् ।