अविरल वर्षाले मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ । चाँगुनारायण नगरपालिका १ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा अहिले पनि वर्ष बस्ती जोखिममा परेको छ ।

केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुरतर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ । नदी आसपासका क्षेत्रका करिब एक दर्जन घर टहरा जोखिममा परेका छन् । कुइँकेल गाउँसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बस्ती जोखिममा परेपछि काठमाडौँ र भक्तपुरका तीन नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीलेसंयुक्त रुपमा मनोहरा कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा तीन वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिएका हुन् ।

निरीक्षणपछि तीन वटै नगरपालिकाका प्रमुखले संयुक्त रुपमा हस्ताक्षर गर्दै मनोहरा नदीले दुवैतर्फ जमिन कटान गर्दै बस्तीसमेत जोखिममा पारेकाले भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न सचेतना अपनाउन अपिल गरेका छन् । अपिलमा तत्काल कुनै क्षति हुन नदिन सबैमा सचेत रहन आग्रह गर्दै अस्थायी समाधानका लागि आवश्यक पहल गर्ने र दीर्घकालीन समस्या समाधानका लागि तटबन्ध निर्माण गर्नेबारेमा तीन वटै नगरपालिकाबीच छलफल भएकाले सहयोग गर्नसमेत अपिल गरिएको छ ।