स्थानीय तह सदस्य निर्वाचन २०७९ ऐतिहासिक रुपमा सफल भयो : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ ऐतिहासिक रुपले सफल भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । सबैको अथक प्रयास र सहयोगले निर्वाचन सफल भएको प्रमुख आयुक्त थपलियाको भनाई छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला गोष्ठीमा विहीबार यहाँ सम्बोधन गदै प्रमुख आयुक्त थपलियाले सो कुरा बताएका हुन् । निर्वाचन हुने नहुने राजनीतिक दलबीच र जनताबीच अनेक आशंका रहँदारहँदै पनि आयोगले निश्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपले निर्वाचन गर्न सफल भएको बताए ।

समीक्षा कार्यक्रममा आयोगका आयुक्त ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर राणासहित सरकारी प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेका छन् ।

स्थानीय तह सदस्य निर्वाचन सफल भएलगत्तै आउने कात्तिक वा मंसिरसम्म प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन गर्नुपर्ने जिम्मेवारी भएपनि अहिलेसम्म सो निर्वाचनको मिति घोषणा हुन बाँकी रहेको उनले बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । अहिलेसम्म मितिबारे कुनै निर्णय भएको छैन, कसले के मिति सार्वजनिक गर्दैछन् त्यसमा नपर्नुहोला, आयोगले सरकारलाई अहिलेसम्म निर्वाचनको मिति सिफारिस गरेको छैन ।

रौतहटमा निर्वाचनताका केही समस्या भएपनि दोसीको पहिचान हुँदाहुँदै पनि कारवाही गर्न नसक्नु विडम्बना भएको गुनासो पनि गरेका छन् । गल्ती गर्नेलाई कारवाही नगरिए आउने निर्वाचनमा पनि छिटपुट समस्या आउनसक्ने उहाँले प्रष्ट पारेका छन् ।

आयोगले यसअघि सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको र केन्द्र तहमा आज समीक्षा गर्न लागिएको उनले जानकारी गराउदै यसअघि बुधबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरी समीक्षा गरिएको उनले बताएका छन् ।

निर्वाचन सम्पन्न गराउन सरकारले ऐन, नियम र विनयिमावलीहरु बनाएको भएपनि अझै पर्याप्त हुन नसकेको बताउदै प्रमुख निर्वाचन आयुक्त थपलियाले समीक्षा बैठकमा त्यसबारे मिहिन ढंगले सुझाव दिन सहभागी सबैमा आग्रह गरेका छन् ।

समीक्षा कार्यक्रममा आयोगका प्रवक्ता तथा सहसचिव शालीग्राम शर्मा पौडेलले आगामी निर्वाचनका लागि असार १ गतेदेखि पुनः मतदाता सूची दर्ताको काम शुरु गरिएको जानकारी दिए । स्थानीय तह सदस्य निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकाबाहेक सबै ठाउँको परिणाम आइसकेको उनले बताए । बाजुरामा असार २३ गते निर्वाचन गर्ने मिति तोकिएको उनले जानकारी गराएको छ ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएपनि निर्वाचनमा ६५ दल निर्वाचनमा सहभागी भए । निर्वाचनमा २४ दलले कुनै न कुनै रुपमा प्रतिनिधित्व गरेको उनको भनाइ छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ४५ हजार १३ जनाले मनोनयन दर्ता गरेको उनले बताएका छन् ।

मतगणनाको काममा केही ढिलाई भएको गुनासो आएको र मतदाता शिक्षा कमजोर भएको पनि गुनासाहरु आएको प्रवक्ता पौडेलले बताएका छन् सातवटै प्रदेशमा गरिएको समीक्षा र केन्दीय कार्यक्रममा आएको समीक्षालाई ध्यानमा राखी आयोगले आगामी दिनमा अगाडि बढ्ने उनले जानकारी दिइएका छन् ।