काठमाडौँ । सप्तरी जिल्लामा ६ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । ६ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख गरेकाृ छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उहाँका श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।
यस वर्ष गैरराज्यबाट ३ हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना रहेका छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन ।प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन् ।
महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, । हालै एकजना पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् ।
अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ ।
Add Comment