स्वतन्त्र उम्मेदवारहरुले पनि गठवन्धन गर्ने, पिआर होल्डरलाई उम्मेदवार नमान्ने


काठमाडौं । स्थानीय तहको निर्वाचनमा सवैको केन्द्र विन्दुमा पर्ने गरेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मेयर पदमा जितेपछि निकै चर्चा पाएको छ । स्वदेश मात्र होइन विदेशमा पनि यसले निकै चर्चा पायो । छिमेकी राष्ट्र भारत र चीनका सञ्चार माध्यमहरुले त विशेष प्राथमकिता नै दिएर प्रकाशन पनि गरे । त्यसैका फलस्वरुप आँउदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले गठवन्धन बनाएर अघि बढ्ने तयारी गरेका छन् ।

ललितपुरमा आयोजित स्वतन्त्र उम्मेदवारहरुको भेलाले गठवन्धन गरेरै स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने गरी योजना समेत बनाएका छन् । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रलाई नै लक्षित गरी मिसन १ सय ६५ सञ्चालन गर्ने प्रस्ताव पनि भेलामा आएको छ ।

‘भेलामा प्रस्तुत गरिएको अवधारणा पत्रमा भनिएको छ , ‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं’ ।

देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

‘भेलाले स्वतन्त्र उम्मेदवारका नाममा जो पायो त्यही उम्मेदार हुँदैमा सहयोग नगर्ने र विदेशी पिआर वा ग्रिनकार्ड होल्डरलाई उम्मेदवार नमान्ने पनि प्रस्ताव ल्याएको छ ।