नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एकको उद्धार

काठमाडौँ । रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।

चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जानकारी गराएको छ ।

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिएका छन् ।

भारतीय नम्बर प्लेट बीआर०१एचएफ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताए ।

आइतबार बिहानसम्म पनि बेपत्ता पर्यटक पत्ता लाग्न सकेको छैन । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा गरिरहेको छ । नुनथर पर्यटक संरक्षण समितिले आन्तरिक एवम् वाह्य पर्यटकसँग पर्यटकीय शुल्क लिने गरेको छ । तर समितिले खटाएको कर्मचारीको लापरवाहीले पनि नदी सम्बन्धि जानकारी नभएका पर्यटक नदीमा डुब्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।