प्रचण्डको पुत्र वियोगमा माधव नेपालको मल्हम

काठमाडौँ । पुत्र वियोगपछि निकै ठूलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिनुभयो । प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, वुहारी विना र प्रकाश पुत्र प्रणव पनि साथमै थिए ।
१०ः४५ को यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुग्नु भएका प्रचण्ड र उहाँको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गर्नुभएको थियो । प्रचण्ड भन्दा करिब १० मिनेट अघि नै विमानस्थल पुग्नु भएका नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गर्नुभएन, केही सहज वातावरण पनि निर्माण गरिदिनुभयो । प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास उहाँले निरन्तर गरिरहनुभयो । करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहनु भएका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गर्नुभयो । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गर्नुभयो ।
चितवनमा हुने विशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता नेपाललगायतले सम्वोधन गर्नुभएको छ । सभामा प्रचण्ड उपस्थित भए पनि सम्वोधन भने गर्नु हुने छैन ।