बाँकेमा छहारी भवन निर्माणमा बजेटको अभाव

काठमाडौँ । बाँकेका द्वन्दपीडित तथा एकल महिला भवन निर्माण अभियानमा जुटेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ९ बाँकेगाउँमा उपलब्ध गराएको जग्गामा १ करोड ४९ लाख ४५ हजारको लागतमा साढे दुई तले भवन निर्माण गर्न लागिएको छ । भवन निर्माण गर्न बजेट अभाव रहेको अध्यक्ष जयन्ती केसीले बताइन् । ।

द्वन्दपीडित तथा एकल महिलालाई बासको व्यवस्था गर्न भवन निर्माण गर्न लागिएको द्वन्दपीडित तथा एकल महिला सञ्जाल अध्यक्ष केसीले जानकारी गराएको छ । विसं २०७३ मा निर्माण थालेपनि हालसम्म साढे एक तला मात्र बनेको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको केसीको भनाइ छ । लुम्बिनी प्रदेश सरकार र नेपालगञ्ज उपमहानगरपालिका बाहेक अन्य स्थानीय तह तथा सङ्घ संस्थाले भवन निर्माणमा सहयोग नगरेको उनको गुनासो छ ।

भवन निर्माणका लागि प्रदेश सरकारले रु ४० लाख उपलब्ध गराएको छ । केही रकम नेपालगञ्ज उपमहानगरपालिका र केही वडा कार्यालयबाट उपलब्ध भएको छ । जिल्लाका सबै स्थानीय तहमा भवन निर्माणका लागि पहल गरिने केसीले बताइन् ।

बाँकेमा करिब ६ हजार एकल महिला रहेको सञ्जालले जनाएको छ । सञ्जालमा श्रीमान्को मृत्य भएका, श्रीमान वेपत्ता भएका, सम्बन्धविच्छेद भएका, बिहे नगरी ३५ वर्ष नाघेका र श्रीमानसँग मानो मुठी छुट्याइएका महिला आवद्ध रहेको केसीले जानकारी दिइन् ।