छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ

काठमाडौँ । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा –७ का २४ वर्षीय दिलीप खवास रहेका छन् । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९ सय ८५ रुपिँया हिनामिना गरेको आरोपमा खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सहकारीको सेवा केन्द्रमा कार्यरत कर्मचारी खवासले रकम हिनामिना गरेको आन्तरिक छानबिनबाट खुलेपछि सञ्चालक समितिकै उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो ।

खवासले उक्त रकम हिनामिना गरेको छानबिनका लागि सञ्चालक समितिका सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल सम्मिलित छानबिन समिति गठन गरिएको थियो ।

समितिले छानबिनको दौरान खवाससँग गरेको सोधपुछमा ३१ लाख रुपिँया हिनामिना गरेको स्वीकार गरेको बताइएको छ । आन्तरिक छानबिनका क्रममा सहकारीको ४६ लाखभन्दा बढी रकम गायब भएको देखिएको सो सहकारीका कर्मचारीको भनाइ छ ।

बचतकर्ताको हस्ताक्षर आफैं किर्ते गरी रकम झिक्नेगरेको खुलेको छ । नक्कली कागजात खडा गरेर कम्प्यूटर सफ्टवेयरमा इन्ट्रि नगरी रकम झिकेर हिनामिना गर्दैआएको खुलेको छ । सहकारीको ६ वटा सेवाकेन्द्र छन् । आठ हजार शेयर सदस्य रहेका सहकारीमा सुुन्दरहरैंचा कार्यक्षेत्र भएका ८ सहकारी २०७७ असार १९ गते मर्ज भएका थिए ।

खवासलाई सञ्चालक समितिको उजुरीका आधारमा गत शुक्रबार नै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । खवासलाई सहकारी कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । अहिले इलाका प्रहरी कार्यालय बेलबारीले रकम हिनामिना बारे थप अनुसन्धान गरिरहेको छ ।