सर्वसाधारणका लागि अप्परसोलुको आइपिओ खुला

काठमाडौँ । अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।

आजदेखि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बिक्री खुला गरेको हो ।

कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १ सय ५० कित्ता कर्मचारीलाई ५ प्रतिशत अर्थात् ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकोे छ ।

सार्वजनिक आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।