नाबालकले लगाउने कपडाको बटन नै सुनको

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा दुबईबाट काठमाडौं आएका एक यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १ सय २५ ग्राम बराबर सुन फेला परेको छ ।

दुबईबाट आएको सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच थानको टाँक स्टिल बटन भित्र लुकाईछिपाई राखिएको अवस्थामा ६० वटा सुनको रिङ फेला परेको छ । उक्त सुन फेला परेसँगै दमाईलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।

भिजिट भिषामा दुबई गएका दमाईले काम गर्ने अवसर नपाएपछि नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहार स्वरुप सो पोशाक नेपालसम्म पु(याइदिन अनुरोध गरेको बताएका छन् । स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको छ ।

एउटा धातुबाट अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने हिसाबले योजनाबद्ध ढङ्गबाट बटनभित्र सुन फिट गरी पठाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसमा क–कसको संलग्नता छ भन्ने थप कुरा अनुसन्धानबाट खुल्ने बताएका छन् ।

भन्सार कार्यालयले यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु जस्तै स् टर्च लाइट, आइरन, मिक्स्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि आफन्तका लागि पु(याइदिन भनि अनुरोध गर्ने र चेकजाँचका क्रममा त्यसमा मालवस्तु फेला पर्ने गरेको बताएका छन् ।

त्यस्ता समानमा सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परेपछि सम्बन्धित यात्रुले कानुन बमोजिम कारबाही भोग्नु परेको भन्दै भन्सारले सजग गराएको छ । मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिन र नल्याउन सबै यात्रुहरूलाई भन्सार कार्यालयले अनुरोध गरेको छ ।