गोरखाको राम्चे चौतारा नजिकै बस दुर्घटना, २० जना घाइते

काठमाडौँ । आज दिउँसो चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चे चौतारा नजिकै दुर्घटना भएको छ । दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टीएर दुर्घटना भएको छ ।

गोरखा प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।

बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो। प्रहरीका अनुसार बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान गरेको छ।