ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

नुवाकोट, ७ मंसिर।  जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् । दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हँुदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ । सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएको छ ।