निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ: रक्षामन्त्री

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब कसैले चाहेर पनिनिर्वाचन बिथोल्न, केही गर्न सक्ने अवस्था छैन, करिब पाँच सयजनालाई गिरफ्तार गरिसकिएको छ, धेरैको भागाभाग भइरहेको छ,’ रक्षामन्त्री प्रधानले भने ।

‘हिंसात्मक घटनामा विप्लवको पार्टी’
रक्षामन्त्रीले चुनावअघि देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा विप्लव नेतृत्वको नेकपाका कार्यकता संलग्न भएको जिकिर गरे । तर, बम र विद्युतीय धराप विस्फोटका घटनाबारे नेकपाले हालसम्म जिम्मेवारी लिएको छैन ।

‘निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको छ, निर्वाचन बिथोल्न खोज्ने विप्लव समूहका नेताहरूलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरिरहेको छ,’ रक्षामन्त्री प्रधानले भने, ‘तर उनीहरूका सामान्य घटनाले निर्वाचनलाई असर गर्दैन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, सुरक्षा व्यवस्था भइसकेको छ ।’

सरकारले नेकपासँग वार्ता नगर्ने पनि मन्त्री प्रधानको भनाइ थियो । ‘चुनावको मुखमा हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, तर, हामी हिट एन्ड रनको पक्षमा छैनौँ, यदि विप्लव समूह वार्तामा आयो भने हामी कुरा सुन्न तयार छौँ,’ प्रधानले भने । तर, संविधान ल्याउन विप्लव नेतृत्वको पार्टीको पनि भूमिका भएको भन्दै प्रधानले प्रशंसासमेत गरे ।