माओवादी नेता घर्ती चढेको गाडीमा बम विस्फोट

पाल्पा, १६ मंसिर  । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ ।

तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ता भने सकुशल रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताउनुभयो ।

माओवादी जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ घाइते हुनुभएको छ । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । बम विस्फोट हुँदा ३४२५ नम्बरको लु१ज जिपमा क्षति पुगेको छ ।

घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उहाँले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको हो ।