रुपन्देहीबाट टिएमटी छड भारत निर्यात सुरु

काठमाडौँ । बुधबार श्री स्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको छ । केही दिनअघि तानसेन सिमेन्ट उद्योगले सिमेन्ट निर्यात सुरु गरेको थियो । स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा सरकारले ८ प्रतिशत अनुदान दिएसँगै नेपाली उद्योगले आफ्नो उत्पादन भारतमा निकासी गर्न सुरु गर्न थालेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३, सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधवारदेखि भारतमा स्टिल्स निर्यात गर्न सुरु गरेको हो । आज पहिलो खेपमा १ ट्रकमा ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरिएको हो ।

बलियो र गुणस्तरीय निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालित उद्योगले सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार भारत निर्यातको शुभारम्भ गरेको श्री स्टिल्स प्रालिका सञ्चालक राजेश अग्रवालले बताएका छन् ।

“कहिले लोडसेडिङ, कहिले विद्युत् ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चुनौतीको सामना गर्दै आज निर्यातको शुभारम्भ गरेका छौँ, यो सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो, उनले भने ।

“हाम्रो गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टिल्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्ने छौँ । उनले नगद अनुदान घोषणा भए पनि छिटो कार्यविधि बनाउन सरकारलाई आग्रह गरेका छन् ।

उद्योगका कार्यकारी निर्देशक सोनेस अग्रवालले छड भारत निकासीपछि देशमा मुद्रा सञ्चिति बढ्ने बताए । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टिल्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ । वार्षिक १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको प्रालिका ब्राण्ड म्यानेजर दिपक शाहले बताए ।

तीन अर्ब लगानी रहेको रोहिणी गाउँपालिका वडा नं ३ सेमरहवास्थित श्री स्टील्स प्रालिमा पाँच सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । केही दिनअघि यहाँबाट उत्पादन भएको पाल्पा सिमेन्ट भारत निर्यात सुरु भएको थियो ।