उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८/७९ मा कायम भएका ४ हजार ७ सय २४ मुद्दामध्ये २ हजार ३ सय २२ मुद्दा फछ्र्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७/७८ देखि जिम्मेवारी सरेर आएका २ हजार ४ सय ६६ मुद्दामध्ये १ हजार ७ सय ४४ र आव २०७८/७९ मा नयाँ दर्ता भएका २ हजार २ सय ५८ मुद्दामध्ये ५ सय ७८ मुद्दा फछ्र्योट गरिएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७ सय २२ र आव २०७८/७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये १ हजार ६ सय ८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।

आव २०७८/७९ मा सरल किसिमका १ सय २२, समान्य किसिमका ४ सय ५६, विशेष किसिमका ९ सय ९७ तथा मार्ग समूहमा नपर्ने,डिसीएम लागू हुनुपुर्वका ७ सय ४७ मुद्दा फछ्र्योट भएका छन् । आव २०७७/७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् १ हजार २ सय १६ मुद्दा फछ्र्योट गरेको थियो । ७६/७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् २ हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो । सो अदालतले आव २०७५/७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २ सय १२ मुद्दा फछ्र्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षितरूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्यन्यायाधीश विनोद शर्माले बताए ।