सप्तकोसीमा पानीको बहावमा उतारचढाव

काठमाडौँ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । आज बिहान ६ बजे २ लाख २९ हजार ३ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिइएका छन् ।

आज बिहान ८ बजेको मापनअनुसार २ लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रमुख यादवले जानकारी दिइएका छन् । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनको भनाइ छ ।