पहिलो पटक क्यान्सर रोगीको तथ्याँक लिइँदै

काठमाडौँ, माघ । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को बुधबारदेखि शुरु गरेको हो । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याँक छैन ।
पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याँक संकलन कार्यको शुरु हुने र यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषद््का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिए ।
क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ । यस अतिरिक्त कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिए÷नलिएको, रोगको परीक्षण (उपचार) स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको लगायतका विषयमा समेत सूचना संकलन गरिने छ ।
क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै रहेका बिरामीको संख्यासमेत यकिन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिन जाने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिक रुपमा सन् २००३ देखि बिपी कोइराला क्यान्सर अस्पतालबाट सूचना संकलन गर्न थालेको थियो । पछिल्लो समयमा नेपालमा खासगरी महिलाको पाठेघर र स्तन, रगत, हड्डी जस्ता अंगको क्यान्सर रोगी बढ्दै गएको बताइन्छ ।
सूचना तथा जानकारी कुन विधि र प्रक्रियाबाट संकलन भन्ने विषयमा ज्ञान लिन परिषद्ले भारतको प्रसिद्ध टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालीम लिन आफ्ना कर्मचारीलाई पठाएको थियो ।
मन्त्रालयले चार महिनाअघि क्यान्सरका रोगीको विवरण संकलन गर्न परिषद्लाई जिम्मेवारी सुम्पेको थियो । “हामी अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका÷नगरपालिकामा सहयोगका लागि जानेहरु मार्फत तथ्याङ्क तथा सूचना लिने तयारीमा छौ, ” वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समेत रहनुभएका अध्यक्ष डा झाले भने । -विष्णु नेपाल