विद्युत् महसुल ३० करोड सङ्कलन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा रु ३० करोड १६ लाख विद्युत् महसुल सङ्कलन गरेको छ । गत आवमा उक्त केन्द्रअन्तर्गत ४ करोड ७२ लाख ७८ हजार ४ सय १२ युनिट विद्युत् उपलब्ध भएकामा तीन करोड ५८ लाख ८७ हजार पाँच सय ६० युनिट विद्युत्को महसुल सङ्कलन गरेको केन्द्रले जानकारी दिइएको छ ।

पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ ।

केद्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले दुई लाख ६० हजार ३ सय ९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरुबाट रु ५२ लाख ३६ हजार असुल गरिएको केन्द्रले जानकारी दिइएको छ । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमि आएको छ ।

नौ सय ४७ सेवाग्राहीको ९ करोड ५ लाख ५० हजार बक्यौता रहेकामा पाँच सय ४३ सेवाग्राहीबाट ३ करोड ४ लाख ९७ हजार असूल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४ सय ४७ रहेको छ । आव २०७८/७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा रु ३७ लाख ५० हजार खर्च गरेको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८/७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने ६ हजार ३ सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ ।