शेयर कारोबारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर २ हजार ६८ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ४१ अङ्कले उकालो लागेर ४ सय दशमलव शून्य ८ अङ्कमा पुगेको छ ।

कूल २ सय २० कम्पनीको ५१ लाख १ हजार २ सय ९० कित्ता शेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार ९ सय २४ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ बराबरको कारोबार भएको छ । यस्तै अपि पावर कम्पनी ७ करोड ८० लाख २६ हजार ६ सय ३५, शिवम् सिमेन्ट ६ करोड ३ लाख ९४ हजार चार सय ७३, अरुण काबेली पावर रु पाँच करोड ५६ लाख ३७ हजार सात सय ५५ र आइसिएफसी फाइनान्स ५ करोड २८ लाख ८० हजार ९ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर ९ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर ९ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनआइबिएल प्रगति फण्ड ३ दशमलव ८०, सपोर्ट माइक्रोफाइनान्स तीन दशमलव २८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी एक दशमलव ९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले एक दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।