मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ । गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिइएको छ ।

सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी गराएको छ । प्रहरीका अनुसार पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइएका छन् ।

हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।