नेपालमा अपराध बढ्दै गर्दा चिनियाँहरुको बढी संलग्नता किन ?

काठमाडौं । पछिल्लो समय नेपालमा बढ्दै गईरहेको अपराधको अवस्थालाई हेर्ने हो भने चिनियाँ कनेक्सनमा अपराधको दर बढेका् देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार मुलुकभर भएका अपराधको संख्यामा करीव ३५ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ प्रहरीको तथ्यांकमा छ । जसमा चिनियाँ नागरिकहरुको कलेक्सन बढ्दै गईरहेको देखिन्छ ।

साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परे जसले अपराधमा चिनियाँ कनेक्सन पुष्टि गरिईदिएको छ । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको थियो। यस्तै, बुटवल र काठमाडौंकै अन्य कल सेन्टरमा प्रहरीले छापा मार्दा ५ जना चिनियाँ, केही भारतीय र नेपाली नागरिक पनि पक्राउ परेका थिए।

२०७६ सालको पुसमा काठमाडांै उपत्यकाको विभिन्न ठाउँबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपालमा बसेर विभिन्न अपराधमा संग्लन भएको भन्दै नेपाल प्रहरीले चिनियाँविरुद्ध अपरेसन नै सञ्चालन गरेर ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका हुन्। नेपालमा बसेर चिनियाँ नागरिकले चीनमा समेत आर्थिक अपराध गर्ने गरेको खुलेको थियो। उनीहरूले विभिन्न बैंकको रकम अवैध रूपमा निकाल्ने, अनलाइन जुवा खेलाउने, अश्लिल साम्रगी देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्काउँदै रकम असुल्नेलगायतका काममा चिनियाँ गिरोह सक्रिय भएको अनुसन्धानमा खुलेको थियो।

यस्तै, गत फागुनमा काठमाडौंको मध्यबानेश्वरबाट केही चिनियाँ पक्राउ परेका थिए। २०७८ साउनमा काठमाडौंको ठमेलबाट ५६ वर्षीय चिनियाँ सी झिवेई पक्राउ परेका थिए। पर्यटक भिसामा नेपाल आएका उनी यतै व्यवसाय गरेर पैसा कमाउनतिर लागे। उनले २०७८ वैशाखमा होम स्वीट स्मेल होटल एन्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी रेस्टुराको आडैमा अवैध मदिरा उत्पादन गरी बिक्री वितरण गर्दे आएका थिए। पछिल्लो समय अपराधमा विदेशी नागरिकको समेत संग्लनता बढ्ने क्रममा छ। नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार आव २०७६÷७७ मा १२, आव २०७७÷७८ मा १० र आव २०७८÷७९ मा २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार नेपालमा आएका प्राय चिनियाँ नागरिक आर्थिक अपराधमा संग्लन हुने गरेका छन्। अवैध विदेशी मुद्राबिना भिसा नेपाल प्रवेश गरेको, लिखतसम्बन्धी कसुर, बैकिङ कसुर, एटीएम मेसिनबाट अवैध रकम निकाल्ने कर्ममा संग्लन, मानव बेचबिखन, जुवातास, सवारी ज्यान जस्ता अपराधमा संग्लन भएका देखिन्छन्।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार विदेशी देख्नासाथ पैसावाल हुन्छन् भन्ने लोभमा पर्दा चिनियाँ नागरिकले अपराध कर्ममा सजिलै सहभागी हुनसक्ने वातावरण बनेको बताए। उनी भन्छन्, ‘आपराधिक काम गर्ने व्यक्तिले बढी भाडा दिने, घरधनीलाई तत्काल लाभ दिने, विभिन्न प्रलोभनमा पारेर नेपाली नागरिकको नागरिकता, पान नम्बर, पासपोर्ट जस्ता कामजात प्रयोग गर्ने जस्ता कार्य गर्दछन्।’ अलिकति शंकास्पद हुनासाथ प्रहरीलाई खबर गर्ने हो भने चिनियाँ मात्रै हैन कसैले पनि आपराधिक काम गर्न नसक्ने उनको दाबी थियो।