भोजपुरे खुकुरीको माग धान्न समस्या

काठमाडौँ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या भएको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।

उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमासमेत प्रख्यात छन् । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम १ हजारदेखि अधिकतम १० हजारसम्म पर्छ ।

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएकाले यो पेसा सङ्कटमा परिरहेको व्यावसायी बताउँछन् ।

बाहिर जिल्लाबाट दुई÷चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’’, गजमेरले भने, ‘‘देशका विभिन्न ठाउँबाट माग आउछ । माग अनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’’

बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माको भनाइ छ । विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको उनले बताए ।

पेसा लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । ‘‘मैले ४० वर्षबाट यही पेसा गरिरहेको छु’’, उनले भने, ‘‘यतिका समय यही पेसा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ । मेहनत बढी गर्नुपर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन । त्यसैले पछिल्ला पुस्ताले यो पेसा गर्न रुचाउन छाडे ।’’

खुकुरी उत्पादन गर्ने कालीगढ विचौलियाको मारमासमेत पर्ने गरेका छन् । ‘‘कालीगढका काममा धेरै दुःख छ’’, लुवारले दुःखेसो गर्नुभयो,‘‘अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा केही सहयोग गरी दिए राहत मिल्ने थियो ।”

राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।

कालीगढ पेसालाई बचाइ राख्नको लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउन्छ । ‘‘खुकुरीको स्थानीयस्तरमैे माग बढी छ’’, व्यवसायी श्रेष्ठले भने, गाउँघरमा परम्परागत रुपमा गरिने पेसा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ ।