एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न मेयर साहको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएको हो ।

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ । 

लामो समयदेखि काठमाडौँका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिकटन रहेको छ । यसअघि पनि लामो समय फोहर जमा भएर बसेको हुनाले अहिले दैनिक ३ सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।