अवैध लागूऔषध सहित पाँच पक्राउ

काठमाडौँ । मोरङको लेटाङ नगरपालिका ३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ स्कुलबारीबाट अवैध लागूऔषध करिब १ केजी गाँजा सहित ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  

जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीबाट अवैध लागूऔषध गाँजा १ केजी ५ सय ग्राम र नगद ६८ हजार ९ सय ६४ रूपैयाँ सहित ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा कम्पनी टोलबाट अवैध लागूऔषध १ केजी चरेश सहित  दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । 

,