‘मिटरब्याजी’आरोपितविरुद्ध ४ सय २७ जनाले उजुरी दिए

काठमाडौँ । सर्लाहीमा सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि ४ सय २७ जानले उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालाय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद अधिकारीका अनुसार सरकारले भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भएपनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएको उजुरीको छुटै लगत राखेर दर्ता गरिरहेको सर्लाही प्रसाशनले जानकारी दिइएको छ ।

सर्लाहीमा धेरै उजुरी गत बिहीबार परेको र पीडितहरुले सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका थिए । पीडितहरुले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले समेत सहभागी भइ समर्थन जनाएका थिए सर्लाहीमा मुख्यत ‘मिटरब्याजी’ आरोपितमा श्याम परदेशी भन्ने श्यामकृष्ण साह, रामबाबु राय, सन्जय साह रौनियारको नाम पहिलेदेखि चर्चामा रहेको भएपनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय, रामचन्द्र रायलगायतको नाम पनि आउन थालेको छ ।

आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर निवासी सन्जय साह रौनियार अहिले सर्लाही प्रहरीको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध चर्को ब्याज अर्थात मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, मुख्य आरोपित श्यामकृष्ण साह अदालतको आदेश अनुसार अहिले थुनामा छन् भने रामबाबु राय फरार रहेका छन् । बरहथवाका रामबाबुलाई प्रहरीले यसअघि दुई पटक पक्राउ गरेको थियो ।

मधेशमा कपाली तमसुक बनाएर चर्को ब्याजमा ऋण लगानी गर्ने र ऋण लिएको रकम भन्दा धेरै रकम फिर्ता गर्दा समेत साहुको ऋण चुक्ता नहुँदा धेरै परिवार पीडित बन्दै आएका छन् ।