इष्टर्न हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने भोजपुर जिल्लाका स्थानीय बासिन्दाले यही भदौ २१ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी असोज ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।साथै एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंकको भोजपुर शाखाका साथै प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा कार्यालयबाट पनि शेयर खरिदका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरनपी–बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।