सुडानमा बाढीबाट ८३ को मृत्यु

काठमाडौँ । सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको मृत्यु भएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो ।

यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ ।

यहाँका केही व्यक्ति हराएका छन् भने १ लाख ३६ हजारजना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको बताएका छन् ।

बाढीका कारण कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जानकारी दिइएको छ । बाढीको बढी प्रभाव रहेका विभिन्न छ राज्यमा सुडानको मन्त्रिपरिषदले सोमबार आपतकालको घोषणा गरेको हो ।

नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।

बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।