मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुई पक्राउ

काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्ट रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै ३ लाख माग गरेकामा १ लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग १ लाख लिएर ठगी गर्ने उनीहरुलाई आज सार्वजनिक गरिएको हो ।

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग १ लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।  

ताजा अपडेट