मोबाइलमा तस्बिर कैद गर्दै भारतीय तीर्थयात्री

काठमाडौँ । हुम्लाबाट मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जाने धार्मिक पर्यटकहरूको एक समूह मोबाइलमा तस्बिर कैद गर्दै सिमकोट आइपुगेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द कैलाश मानसरोवर दर्शन हुम्लाको नाम्खा ६ लिमिको लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन गर्न मिल्ले भएपछि भारतीय पर्यटक हुम्ला आएका हुन् । कोरोनाका कारण हिल्सा नाका बन्द भएपछि पहिलो पटक हुम्लामा ठूलो संख्यामा धार्मिक पर्यटक आएको पर्यटन व्यवसायी विजय लामाले बताए ।

गएको वर्ष १ सय ५० भन्दा बढी धार्मिक पर्यटक आए पनि यस वर्ष लिमि लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन गर्न १ हजार ४ सय जना भारतीय पर्यटकहरुले बुकिङ गरेको लामाले बताए । ५६ जना पर्यटकहरूको टोली सिमकोट बसेर बुधबार बिहान गाडीमा नाम्खा १ लेकधिंगामा रहेका बेस क्याम जाने र लेख धिङगाबाट लिमीको ताक्चीसम्म हेलिकोप्टरमा, ताक्चीबाट पुनस् गाडीमा लाप्चा पुगेर मानसरोवर कैलाश दर्शन गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

हुम्ला सदरमुकाम सिमकोट पुगेको धार्मिक पर्यटकको टोलीलाई सिमकोट विमानस्थलमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशील रोकायालगायको टोलीले खादा लगाएर स्वागत गरेका थिए ।

रासस