कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित अभियानकालागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेसले अभियान चलाइरहेको छ ।

यही भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो । उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने बताएका छन् ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन दिइएको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्ने जानकारी गराएको छ ।

प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताएका छन् ।