पाल्पामा गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

काठमाडौँ । पाल्पाको इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा ३ हजार नौ ७८ जनाले  नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये १ हजार ९ सय ८९ पुरुष र १ हजार ९ सय ८९ महिला छन् । नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि  नागरिकता बनाउने बढेका हुन् । 

दैनिकजसो कम्तीमा २० देखि ५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन, सङ्घ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचय पत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ”, कार्यालय प्रमुख अर्यालले बताएका छन् ।          

प्रमुख अर्यालका अनुसार कार्यालयबाट आव २०७८/७९ मा २ जनालाई अंगिकृत नागरिकता वितरण गरिएको छ । नागरिकता प्रतिलिपि एक हजार ९ सय ९६ लाई प्रदान गरिएको छ । आठ सय ७५ पुरुष र एक हजार एक सय २१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् । नाबालक परिचय पत्र २५, राहदानी दु्रत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित एक, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

  सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्दा निकै सास्ती खेप्नुपर्ने तथा भनेको समयमा काम नबन्दा बास नै बस्नुपर्ने अवस्था खेपेका नागरिकले गाउँबाटै सेवा पाउँदा राहतको अनुभूति भएको सेवाग्राही ओमप्रकाश बस्यालले बताए । “बेला बेलामा कार्यालय प्रमुखविहीन, बाहिरका कार्यालय प्रमुख हुदा काम विशेष र विदाका समय अन्यत्र जाने, घर बिदाजस्ता समस्याले कार्यालयमा प्रमुख नहुँदा तानसेन नै जानुपथ्र्यो, अहिले स्थानीय कार्यालय प्रमुख भएकाले नियमितरुपमा कार्यालयमा आउने बित्तिकै सेवा पाइएको छ”, उनले बताए । 

नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । आव २०७७/७८ मा वंशजको आधारमा नागरिकता लिने १ हजार ७ सय ६०, प्रतिलिपि नागरिकता ३ सय ३९, नाबालक परिचय पत्र २१, राहदानी दु्रत सेवा ७५, आदिवासी जनजाति प्रमाणित २३९, दलित प्रमाणित २५, नामथर प्रमाणित १६, संस्था नवीकरण ४३ र सैनिक बोर्डलाई अभिलेख पठाएको भर्ती प्रयोजनार्थ २९ रहेको कार्यालयले जनाएको छ ।

आव २०७६/७७ मा वंशजको आधारमा नागरिकता लिने एक हजार ३७९, प्रतिलिपी नागरिकता ३७५, नाबालक परिचय पत्र २२, राहदानी दु्रत सेवा १९१, आदिवासी जनजाती प्रमाणित १०५, दलित प्रमाणित २३, नामथर प्रमाणित नौ, संस्था नविकरण ३८ तथा सैनिक बोर्डलाई अभिलेख पठाएको भर्ती प्रयोजनार्थ २१ रहेको कार्यालयले जनाएको छ । 

कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।  पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ ।