सुन तस्करीको लेनदेन नमिल्दा सनमको हत्या

काठमाडौँ,फागुन । मोरङको उर्लाबारी–७ स्थायी घर भएका ३३ बर्षीय सनम शाक्यको अपहरणपछी हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेका टेकराज मल्ल, मोरङका नरेन्द्र कार्की र मोहन काफ्ले रहेका छन् ।

महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्नहरुलाई विराटनगर महानरपालिका–३ स्थित पोखरियाबाट नियन्त्रणमा लिएको हो ।

फागुन १५ गते मोरङ उर्लाबारी–७ बस्ने सनम शाक्यलाई सुन तस्करीको लेनदेनमा कुरा नमिलेपछि तीन जनाले अपहरण गरेर सिराहा जिल्लाको अज्ञात स्थानमा लगेर शरीर बन्धक बनाई हत्या गरेका थिए ।

शनिवार प्रहरीले बिराटनगर स्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा. १२ च ५९३३ नम्बरको क्रिम कलरको स्कोरपियो चेकजाँच गर्दा सोही गाडीको डिकीमा सनमको शव फेला परेको थियो ।

गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले लुकाई राखेको अवस्थामा भेटिएको सनमको शरिर भरी निलडाम भएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरु र घट्नामा प्रयोग भएको गाडी समेतलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको महाशाखाले जनाएको छ ।