घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

काठमाडौं । कुमारी आमा निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् ।

करिश्मा सारीमा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन् । प्यालेसमा पैसा फिर्ता गर्ने क्रममा उनीहरुबिच विवाद र भनाभन समेत भएको थियो ।

सुरुमा पैसा लिन आनकानी गरेकी करिश्माले पैसा फिर्ता पाएपछि आफूले धेरै मेहनतले कमाएको पैसा भएको र गलत ठाउँमा प्रयोग नभएको भन्दै सन्तोष व्यक्त गरेकी थिइन् ।

गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने समेत तयारी गरेकी बताइन ।