सिन्धुपाल्चोकमा बाढी : हेलम्बुको फाँट डुबानमा, सडक अवरुद्ध

काठमाडौँ । सिन्धुपाल्चोकामा अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुर्याएको छ । शनिबारदेखि परिरहेको भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएको छ ।

मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन् । बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।