काठमाडौं फनपार्कलाई कर तिर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौं फन पार्कले २०७२ सालदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले कर तिर्न आग्रह गरेको छ । महानगरपालिका वडा नम्बर २८ मा समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएको फनपार्कले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर नतिरेको महानगरपालिकाले जानकारी गराएको छ ।

उक्त फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् । उनी नेपाली कांग्रेसका नेता समेत हुन् । फनपार्कले वर्षमा व्यवासय कर बापत करिब २० हजार रुपैयाँ तिर्नुपर्ने राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । यस्तै, फनपार्कले मनोरञ्जन कर पनि महाननगरलाई नबुझाएको पाइएको छ ।

दैनिक फनपार्कमा सयौंको संख्यामा पैसा तिरेर जाने गरेका छन् । मनोरञ्जन करमार्फत् महानगरले आगन्तुकले तिरेको पैसामध्ये ५ प्रतिशत लिन्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने अधिकारीले जानकारी दिए ।

फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि बहाल कल तिरिको छैन । महानगरपालिकालाई फनपार्क र समाज कल्याण परिषद्बीचको बहाल सम्बन्धीको सम्झौता पत्र पनि नदिइएको अधिकारीले जानकारी दिए । महानगरले बहाल करमार्फत् वार्षिक १० प्रतिशत लिने गरेको छ ।