कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

काठमाडौँ । निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएपछि करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुङ्गा खसिरहेको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए । निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

बुधबारदेखि लगातार करिडोरको दब्ल्याङमा लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । बागलुङ–१३ फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुङ्गा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको नगर उपप्रमुख राजु खड्काले बताए ।

“बुधबार दव्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले दुर्घटना रोक्न हिजो देखि नै सवारी सञ्चालनमा रोक लगाएका छौँ”, उपप्रमुख खड्काले भने, “पानी नरोकिँदासम्म दब्ल्याङको पहिरो पन्छाउन त सकिएला तर फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले समस्या भयो, ढुङ्गा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।”

सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।